काठमाडौं, माघ ७ – मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।
मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएर उपचारको लागि काठमाडौं ल्याइएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ ।
होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको हो । मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ।
उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।
उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।
FACEBOOK COMMENTS