काठमाडौं, पुष ७ – नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको ठूलो लाप्चे जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ। सो आयोजना १६० मेगावाटको हो।
प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको तथा नाशा हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ।
२६ अर्ब २० करोड लागत लाग्ने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका छन्। यी बैंक तथा वित्तीय संस्थाहरुबाट १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।
ऋणीका तर्फबाट नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता एकआपसमा आपसमा आदानप्रदान गरे। उक्त अवसरमा सहभागी सम्पूण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो।
उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाडौंले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब वित्तीय व्यवस्थापन गर्नेछन्।
कुल १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध भएको अगुवा नेपाल बैंकले जानकारी दिएको छ। बैंकका अध्यक्ष वासुदेव अधिकारीले सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र विश्लेषण गरी ऋण लगानीका लागि उचित निष्कर्षमा पुगेको जानकारी दिए।
बैंकहरुमा तरलता सहज भएको अवस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय उचित रहेको उनले बताए। दुगड ग्रुपको लगानीमा बनेको अर्को लिखु खोला जलविद्युत आयोजना अन्तिम चरणमा छ। कार्यक्रममा डेभलपर नाशा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक र अरु संस्थाले गरेको सहयोगको सह्राना गरे। उनले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट ब्यापारिक उत्पादन सुुरु गरिने जानकारी समेत गराए।
FACEBOOK COMMENTS