काठमाडौँ – नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ काठमाडौँमा शुरु भएको छ ।
भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए ।
प्रविधिको प्रयोगमा समेत युवा शक्ति अगाडि रहेकाले उनीहरुसँग साझेदारी गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले समाजको आवश्यकताअनुसार चल्न सकेन भने विकास सम्भव नहुने धारणा व्यक्त गरे ।
“समाज विकासका लागि नयाँ खोज र योजना जरुरी हुन्छ” रिमालले भने, “त्यो क्षमता युवामा हुन्छ, उसले सरकारलाई समेत गाईड गर्न सक्छ ।”
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए ।
उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए ।
राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन् ।
रासस
FACEBOOK COMMENTS