धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ ।
बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो ।
समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा हुनेछ । उपाकु हिँड्ने मानिस तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।
धरहरा पुनःनिर्माण कार्य हेरिरहेका प्राधिकरणका विज्ञ राजुमान मानन्धरले २१ भदौसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिए । उपाकु हिड्ने मानिस बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिड्न मिल्ने बनाउने सहमति भएको उनको भनाई छ ।
नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ । त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कन अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । पछि यहाँ स्थायी सडक बन्नेछ ।
FACEBOOK COMMENTS