काठमाडौं, पुस २५ – नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले अर्थमन्त्री युवराज खतिवडासँग शपथ लिएसँगै पद बहाली गरेका छन् ।
गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीबार सार्वजनिक भएको थियो । पद बहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए ।
लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए ।उनले अध्यक्षका लागि बोर्ड कर्मचारी पनि प्रतिस्पर्धी रहेको भन्दै यो सरकारको नियुक्ति हो, प्रतिस्पर्धी साथीहरूले चित्त नदुखाउन आग्रह गरे ।
नवनियुक्त अध्यक्ष ढुंगानालाई बोर्डका कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र नीरज गिरीसहित कर्मचारीले स्वागत गरेका थिए । ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन् ।
FACEBOOK COMMENTS