काठमाडौं, पुस १५- नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । सिफारिश समितिले नीरज गिरी, भीष्मराज ढुंगाना र डा. केशवप्रसाद श्रेष्ठको नाम छनौट गरी अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने भएको छ ।
समितिले सोमबार आवेदकहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा पाँच जनाबाट अन्तिम तीन जना प्रतिस्पर्धी छनौट गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल, राजस्व सचिव शिशिर कुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य सम्मिलित छनौट समितिले तीन जना प्रतिस्पर्धी छनौट गरेको हो ।
शर्ट लिस्टमा बोर्डका कार्यकारी निर्देशक नीरज गिरी, निमित्त कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख सीताराम थपलिया , राष्ट्रिय बिमा कम्पनीका पूर्वसञ्चालक डा. केशवप्रसाद श्रेष्ठ र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना परेका थिए ।
सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको नाम चयन गरेको थियो ।
आवेदन दिएकाहरुको व्यक्तिगत विवरण, कार्यानुभव आदिको मूल्यांकनपछि अन्तर्वार्ता र प्रस्तुतीकरण राखिएको थियो ।समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिनेछ ।
सेयर बजारको नियमन गनै निकाय नेपाल धितोपत्र बोर्ड साढे २ महिनादेखि नेतृत्वबिहीन छ। बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदमा नयाँ व्यक्ति नियुक्तीमा अहिलेसम्म अलमल हुँदै आएको छ।
FACEBOOK COMMENTS