काठमाण्डौँ — झापाका छ ठूला नदीमा यो वर्ष करिब १८ करोड रुपैयाँको नदी नियन्त्रणको काम गरिएको छ ।
जनताको तटबन्ध कार्यालयले रतुवा–मावा, कमल, कनकाई, विरिङ, मेची र देउनियामा कटानको उच्च जोखिम रहेको स्थानमा तटबन्ध गरेको हो ।
कार्यालयले चालु वर्ष रतुवा–मावामा एक सय ४० मिटर, कमलमा तीन सय मिटर, कनकाईमा चार सय मिटर, विरिङमा एक सय २० मिटर, मेचीमा पाँच सय मिटर तटबन्ध गरिरहेको छ ।
‘सदरमुकाम बचाऊ’ कार्यक्रमअन्तर्गत मेची र देउनिया नदीमा थप एक किलोमिटर तटबन्धको काम पनि गरिरहेको कार्यालय प्रमुख मेखनाथ शर्माले जानकारी दिए ।
कार्यालयले यसै वर्ष पुरानो ठेक्काअन्तर्गत करिब साढे ६ किलोमिटर तटबन्ध निर्माणको कार्य पनि सम्पन्न गरेको छ ।
यो वर्ष रतुवा–मावाको महाराजस्थान, कमल नदीको सुकुम्बासी टोल क्याम्पा र पाँचगाछी, कनकाईको हात्तीसार, चिल्लागढ र किचकडाँगीमा तटबन्ध गरिएको छ ।
विरिङ नदीको घैलाडुब्बाको गोलुबारी, मेची नदीको बाहुनडाँगी, तिरिङ र पाठामारीमा तटबन्ध गरिएको छ ।
कार्यालयले सदरमुकाम बचाऊ कार्यक्रमअन्तर्गत मेची र देउनिया नदीको भैंसाबारी, बाछाकबस्ती, शान्ति टोल, देवी बस्ती, समसानघाट, भाङ्गबारी, गैरीगाउँमा तटबन्धको कार्य गरिरहेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS