काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले मलेसियाको रोजगारी १६ महिना स्थगन भएको र कोरोनाका कारण लागू भएको लकडाउनको मारमा परेका वैदेशिक रोजगार व्यवसायीहरुलाई राहत दिन आफु प्रतिवद्ध रहेको बताएका छन् ।
म्यानपावर कम्पनीको ईजाजतपत्र नवीकरण गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेका मन्त्री यादवले मिडिया सँग संक्षिप्त कुरा गर्दै मलेसियाको रोजगारी १६ महिना स्थगन भएको र कोरोनाका कारण लागू भएको लकडाउनको मारमा परेका वैदेशिक रोजगार व्यवसायीहरुलाई राहत दिन एक वर्ष ग्रेस पिरियड दिनुपर्छ भन्ने मान्यताका आधारमा मन्त्रिपरिषद्मा बाधा अड्काउ फुकाउ प्रस्ताव लगेको बताए ।
अधिकांश वैदेशिक रोजगार व्यवसायीहरुका लागि बहुप्रतिक्षित मानिएको उक्त प्रस्तावले मन्त्रिपरिषद्को मंगलबारको वैठकमा प्रवेश पाएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठकमा छलफल गर्ने भन्दै रोकेको सार्वजनिक भएको थियो ।
मन्त्री यादवले कुराकानीका क्रममा सधैंका लागि भन्दा पनि अघिल्लो आर्थिक वर्ष मलेसियाको रोजगारी १६ महिना बन्द भएको र यस वर्ष कोरोना भाइरसका कारण गरिएको लकडाउनले श्रम स्वीकृति बन्द गरिएकाले व्यवसायीहरुको ईजाजतपत्र नवीकरण हुन न्यायोचित रहेको र आफु त्यसको पक्षमा रहेको बताए ।
मन्त्री यादवले नेपाल जस्तो ३ करोड मात्र जनसंख्या रहेको सानो मुलुकमा म्यानपावर कम्पनीहरुको संख्या धेरै रहेको भन्दै उनीहरुलाई फिल्टर गरेर व्यवस्थापन गर्ने निवर्तमान मन्त्री गोकर्णराज विष्टको योजनामा भने आफु पनि सहमत रहेको तर एक पटकलाई राहत दिनु उचित नै हुने बताए । मन्त्री यादवले नवीरकणपछि व्यवसायीहरु एक आपसमा गाभिने प्रकृया मर्जरमा जानु उपयुक्त हुने सुझाव दिए ।
कोरोना भाइरस संक्रमणपछि गत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडानउका कारण प्रभावित सबै पक्षलाई कर छुट तथा अन्य सहुलियत दिने निर्णय गर्र्दै वार्षिक रुपमा एक सय जना कामदार नपठाएको कारण वैदेशिक रोजगार व्यवसायीहरुको ईजाजतपत्र नवीकरण नहुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको थियो । तर संसदमा ऐन संशोधनको प्रकृया अघि बढाएइन ।
मन्त्रिपरिषद्को उक्त निर्णय सार्वजनिक भएको तीन महिना लामो समय गुज्रीसकेको र ईजाजतपत्र नवीकरणको नियमित अवधि सकिन लाग्दासमेत समस्या समाधान नभएपछि व्यवसायीहरु आत्तिएको अवस्थामा रहेका छन् ।
FACEBOOK COMMENTS