काठमाडौं ।नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर दिने भएको छ।कोषको २६ औं वार्षिक साधारणसभाबाट पारित भएसँगै सेयरधनीले ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका हुन्।
साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित समेत गरेको कोषले जनाएको छ।कोषका अनुसार कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितिका बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइ साधारणसभा सम्पन्न गरिएको हो।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको जनाएको छ ।साधारणसभामा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रुपैयाँ संकलन र १ खर्व ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको तथा खुद नाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको बताइएको छ ।
कोषको कारोबार बिस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिसकेको जानकारी समेत कोषले दिएको छ ।कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको उक्त अवसरमा जानकारी दिइयो ।
FACEBOOK COMMENTS