काठमाडौँ, भदौ २९ – अब निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको भुक्तानी दाबी गर्न पाईने भएको छ ।
बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने भएको हो ।
सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ।
यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चर्को आलोचना भएको थियो ।
जनस्तरबाट भएको चर्को आलोचना र दबाबपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी भुक्तानी पाउने व्यवस्था गरेको हो ।
FACEBOOK COMMENTS