काठमाडौं, पुस २८ – गृहमन्त्री रामबहादुर थापा बादलले बैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । उनले भने, ‘स्वच्छ, निस्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन ।’
शान्ति सुरक्षा, सिमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए । उनले भने, ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईंहरुलाई कुनै चुनौति आए गृहमन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ ।’
बढुवा भएका अधिकृतहरुको जिम्मेवारी थप बढेको भन्दै गृहमन्त्री थापाले भने , ‘अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुहोस् ।’
कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।
FACEBOOK COMMENTS