नुवाकोट, जेठ ५ – नुवाकोटमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबारसम्म १३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर फैलिँदै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० पुगेको छ ।
बुधबारसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय १३ र निको भएर घर जानेको सङ्ख्या एक हजार पाँच सय ३३ रहेको छ । बुधबार दुई सय ९४ जनाको पिसिआर परीक्षण गर्दा एक सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
बुधबार मात्रै ८० जना कोरोनालाई जितेर भएर घर फर्केका छन् । विदुर नगरपालिकामा अहिलेसम्म एक हजार आठ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार दुईसय ६७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, बेलकोटगढी नगरपालिकामा ६ सय ६ जनाको परीक्षण गर्दा दुई सय ६ जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म ककनी गाउँपालिकामा तीन सय २७ जनाको परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण देखिएको थियो । सूर्यगढी गाउँपालिकामा चार सय ३१ जनाको परीक्षण गर्दा एक सय ३९, लिखु गाउँपालिकामा चार सय दुईजनाको परीक्षण गर्दा एक सय पाँच, शिवपुरी गाउँपालिकामा ६ सय ३९ जनाको परीक्षण गर्दा ९३ जना, पञ्चकन्या गाउँपालिकामा दुई सय ९२ जनाको परीक्षण गर्दा ५२ जना, दुप्चेश्वर गाउँपालिकामा तीन सय २३ जनाको परीक्षण गर्दा ५६ जना, तादी गाउँपालिकामा दुई सय २६ जनाको परीक्षण गर्दा एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी, किस्पाङ गाउँपालिकामा तीन सय ४१ जनाको परीक्षण गर्दा एक सय ३३, म्यागङ गाउँपालिकामा ५९ जनाको कोरोनाको परीक्षण गर्दा ३५ र तारकेश्वर गाउँपालिकामा दुई सय ६५ जनाको परीक्षण गर्दा एक सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
कोरोना भाइरसको सङ्क्रमितमध्ये ५३ जनाको खरानीटार र त्रिशूली अस्पतालमा, १७ जनाको आइसोलेसन सेन्टरमा र सात सय ९७ जनाको होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । पछिल्लो एक हप्ता नुवाकोटमा प्रत्येक दिन कोरोना सङ्क्रमित र कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
FACEBOOK COMMENTS