काठमाडौं, चैत २ –ईजरायल सरकारले नेपालका तीन अस्पताललाई कोरोनाविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।नेपालस्थित इजराईली दूतावासले वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताललाई कोभिड–१९ लगायत अन्य स्वास्थ्य चुनौतीसँग लड्न तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नको हेतु विभिन्न स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो ।
इजराईली दूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई Anesthesia Ventilators with @ Vaporizers, Patient Monitor, Electrocardiographs वीर अस्पताललाई ABG Monitors, Patient Monitor र धुलिखेल अस्पताललाई Tumbler Dryer प्रदान गरेको हो ।माथि उल्लेखित सामाग्रीहरु अस्पतालको आवश्यकता एवं इजराईल सरकारको ऐक्यवद्धता स्वरुप स्वास्थ्य सेवा सुदृढ र सहज गर्न प्रदान गरिएको जनाइएको छ ।
स्वास्थ्य उपकरण हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि इजराईली राजदूत हनान गोडरले उक्त सहयोग नेपाल–इजराईल सम्बन्धको एउटा पाटो रहेको र यस किसिमको सहकार्यले कोभिड–१९ विरुद्ध लड्न साझा अवधारणा विकास गर्ने कुरा व्यक्त गरे ।
त्यस्तै पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले इजराईली दूतावासद्वारा प्रदान गरिएको उपकरणहरु विश्व समुदायबाट नेपाललाई दर्शाइएको सद्भावको अनुपम उदाहरण रहेको र यसले कोभिड–१९ विरुद्ध एकजुट भएर सामना गर्न थप बल पुगेको विश्वास व्यक्त गरे ।
यसैक्रममा वीर अस्पतालका कन्सलटेन्ट हाडजोर्नी विशेषज्ञ डा. श्रृषि विष्टले यस महामारीको समयमा गरिएको सहयोग प्रति इजराईली जनतालाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले इजराईली दूतावास र धुलिखेल अस्पतालबीचको लामो सहकार्य मार्फत् धुलिखेल अस्पतालको समग्र स्वास्थ्य सेवा प्रवाहमा सुधार भएको र अहिले अस्पताललाई प्राप्त भएको उपकरणले अस्पतालको स्वच्छता एवं बिरामीको स्याहारमा थप सुविधा प्राप्त भएको उल्लेख गरे । यसका लागि उनले इजराईली राजदूत हनान गोडर लगायत समग्र दुतावासका कर्मचारी प्रति कृतज्ञता ज्ञापन गर्दै यस किसिमको सहयोग र सद्भाव सदैव प्राप्त हुने विश्वस व्यक्त गरे ।
यस प्रकारको सहायता नेपाल–इजराईल मित्रताको द्विपक्षीय सहकार्यको अभिव्यक्ति भएको भन्दै इजराईली दूतावासले भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने अपेक्षा गरेको जनाएको छ ।
FACEBOOK COMMENTS