काठमाडौं, १ माघ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको खोप अभियानमा सहयोग गर्ने निर्णय गरेको छ । उसले कोभिड-१९ विरुद्धको खोप नेपाल भित्र्याउन पहल सुरुसमेत गरिसकेको जनाएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिडविरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरेको थियो ।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायका आधारमा खोपका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल सरकारसँगको सहकार्यमा कोभिड १९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गरे ।
छलफलमा एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले खोप लैजान नेपालमा प्रयाप्त तयारी भएको छैन । विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताए । डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनुपर्नेमा जोड दिए । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिनेबारे छलफल र तयारी भइरहेको उनको भनाइ थियो ।
भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने उनले बताए । नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई उनको सुझाव थियो । नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा उनको जोड थियो। उनले नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने उल्लेख गरे ।
भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने उनको भनाइ थियो । भारत सरकारलाई नेपाललाई आवश्यक मात्रामा पूरा हुने गरी खोप उपलब्ध गराउन आग्रह गर्न सकिने उनले बताए । डा. खनालले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको समेत बताए ।
FACEBOOK COMMENTS