काठमाडौं, असोज १५ – तेल अभिभ-ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था मसाब को तत्वावधानमा नेपालमा ईजरायली कृषि प्रविधी भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र ईजरायलबीच हस्ताक्षर भएको छ ।
ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आज हस्ताक्षर सम्पन्न भएको हो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गाबीले हस्ताक्षर गरेका थिए ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास राजदुत शाक्यले व्यक्त गरेकी छन्।’यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ’ उनले भनिन ।
विगत केही समयदेखिको छलफललाई निश्कर्ष दिँदै आजै नेपाल र ईजरायलबीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा पनि हस्ताक्षर सम्पन्न भएको छ। सो सम्झौतामा समेत नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गाबीले हस्ताक्षर गरेका थिए ।
यस फ्रेम वर्क सम्झौतामा हस्ताक्षर भएसँगै ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ। यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यन्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ। यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर लैजाने सम्बन्धी प्रोटोकलमा छिट्टै सम्झौता हुँदैछ।
नेपालका लागि ईजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर हुने र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु ईजरायल जाने राजदुत शाक्यले जानकारी दिईन् । सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत डा. अन्जान शाक्य र ईजरायलका परराष्ट्र मन्त्री गाबी असेनाजी बीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो।
भेटघाटका क्रममा गाबीले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै यो महामारी पछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको ईजरायल भ्रमण हुने विश्वास व्यक्त गरे । उनले नेपालको सौन्दर्यको चर्चा गर्दै नेपालीहरुको कोमलपन र सहनशीलतालाई ईजरायलीहरुले मन पराउने गरेको साथै सधैं नेपाल जान प्रेरित गर्ने गरेको बताएका थिए । यसै सन्दर्भमा राजदूत डा. शाक्यले नेपाल र ईजरायलबीच उच्चस्तरीय भ्रमण तथा सीधा हवाई उडानको आवश्यकता औंल्याएकी थिईन ।
ईजरायल नेपालको पुरानो मित्र रहेको स्मरण गर्दै राजदूत डा. शाक्यले आगामी दिनमा दुई देशबीच थप सघन सहकार्य हुने अपेक्षा व्यक्त गरिन । राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि ईजरायलको कृषि, हस्पिटालिटी, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गरेकी थिईन् ।
साथै राजदूत डा. शाक्यले विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिईन् । ईजरायली परराष्ट्र मन्त्री नेपालसँग सहकार्य गर्न अत्यन्तै ईच्छुक रहेको पनि उनले जनाईन् ।
FACEBOOK COMMENTS