काठमाडौं, मंसिर ४– कोरोनाका गम्भीर खालका बिरामीमा प्रयोग गरिएको रेमडिसिभिर र प्लाज्मा थेरापीको साइड इफेक्ट निकै कम रहेको एक अध्ययनले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनको प्रारम्भिक रिपोर्टले कोरोनाका गम्भीर खालका बिरामीमा प्रयोग गरिएको रेमडिसिभिर र प्लाज्मा थेरापीको साइड इफेक्ट निकै कम रहेको पाइएको हो।
गम्भीर अवस्थाका ३ सय ५५ जना कोरोना संक्रमितमा रेमडिसिभिर र ९२ जनामा प्लाज्मा थेरापीको साइड इफेक्टबारे अध्ययन गरिएको अध्ययनमा संलग्न अध्ययनकर्ता प्राडा जनक कोइरालाले बताए।
उनले भने, ‘सेप्टेम्बरसम्मको तथ्यांक अनुसार हामीले ३ सय ५५ जना कोरोनाका गम्भीर खालका बिरामीमा रेमडिसिभिरको साइड इफेक्टबारे अध्ययन गरेका थियौं। त्यसमा ५ प्रतिशतभन्दा कम संक्रमितमा मात्र साइड इफेक्ट देखिएको थियो। त्यो पनि औषधि सेवन छाडेपछि ठिक भयो।’
उनका अनुसार रेमडिसिभिर प्रयोग गरिएका ५ प्रतिशतभन्दा कम संक्रमितमा मात्र साइड इफेक्ट देखिएको थियो। साइड इफेक्ट देखिएका संक्रमितहरुमा पनि औषधिको प्रयोग छोडेपछि आफैं हटेर गएको उनले बताए। औषधि प्रयोग गरिएका केहीमा कलेजो र मिर्गौलामा समस्या भएको पाइएको थियो।
‘औषधि प्रयोग गरिएका केहीमा कलेजो र मिर्गौलामा समस्या भएको पाइएको थियो। तर उनीहरुमा पनि औषधि चलाउन छाडेपछि ठिक भयो,’ उनले भने।
अक्सिजन आवश्यक परेर अस्पताल भर्ना भएका संक्रमितलाई रेमडिसिभिर औषधि प्रयोग गर्दा प्रभावकारी देखिएको थियो भने आइसियु र भेन्टिलेटरमा भर्ना भएका संक्रमितलाई रेमडिसिभिर र प्लाज्मा थेरापी दुवै दिँदा उपचार प्रभावकारी भएको पाइएको थियो।
FACEBOOK COMMENTS