काठमाण्डौँ — नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले ‘शून्य लागत’ मा कामदार पठाउन गरेको प्रस्तावमा मलेसिया सहमत भएको छ ।
उक्त विषय मस्यौदामा समावेश गरिएको छलफलमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए ।
दुई देशका प्रतिनिधिमण्डलबीच भएको बैठकमा कामदार मलेसिया पठाउँदा लाग्ने सम्पूर्ण खर्च र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कसमेत मलेसियाली रोजगारदाताहरुले नै ब्यहोर्नेलगायत महत्वपूर्ण विषयहरु मस्यौदामा समावेश गरिएको छ।
छलफलमा सहभागी नेपाली कार्यवहाक राजदूत कुमारराज खरेलका अनुसार कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय मस्यौदामा समावेश भएको छ।
खरेलका अनुसार मलेसिया आउने नेपाली कामदारलाई पारिएको ‘अधिकांश’ आर्थिक भार अब हट्ने छ।
कार्यवहाक राजदुत खरेलका अनुसार अब यथाशक्य चाँडो श्रम सम्झौताको मिति तय गरेर हस्ताक्षर हुनेछ।
खरेलले श्रम सम्झौतामा हस्ताक्षर भएपछि मात्र हाल बन्द रहेको मलेसिया रोजगारी खुल्ने विश्वास व्यक्त गरे।
— कान्तिपुर
FACEBOOK COMMENTS