काठमाडौं, वैशाख १४ । नेपाल उद्योग परिसंघले पदाधिकारी समितिकोे आकस्मिकको बैठक बसेर कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल भएको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्षमा नेपाल सरकार र उद्योग क्षेत्रले के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे सुझाव समेत दिएको छ ।
विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्नु पर्ने देखिन्छ ।
साथै, खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई फास्टट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभर अगाडी बढाउने टड्कारो आवश्यकता रहेको छ ।
परिसंघले अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्था गर्न माग गर्दछ ।
त्यसैगरी, अक्सिजनको आपुर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।
हामीले कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्नुका साथै क्षमता अभिवृद्धि समेत गर्नुपर्दछ ।
साथै, निजी क्षेत्रले कोभिडको नियन्त्रण गर्न औषधि एवं स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा कुनै खर्च गरेमा त्यसलाई सामाजिक उत्तरदायित्वको रुपमा लिएर आयकरमा छुटको व्यवस्था गरेमा कोभिड विरुद्धको युद्धमा सहभागी हुन निजी क्षेत्रलाई उर्जा प्रदान हुने परिसंघको सुझाव रहेको छ ।
त्यसैले, सुरक्षाका प्रोटोकल बनाई, तिनीहरुको पूर्ण पालना गरी त्यस्ता उद्योगधन्दालाई संचालन गर्न छुट दिन परिसंघ सरकारसँग आग्रह गर्दछ ।
कुनै कर्मचारी वा मजदुरमा लक्षण देखिएमा उनीहरुको पीसीआर गराउने र क्वारेन्टाइनको व्यवस्था मिलाई दिन परिसंघ सम्पूर्ण उद्योगीव्यवसायीसँग आग्रह गरेको छ।
जिल्लामा रहेका होटलहरुलाई सहमतिको आधारमा कोभिड केयरसेन्टर तथा अस्पतालकोरुपमा अगाडी बढाउन सरकारलाई परिसंघले सुझाव दिएको छ । आपूर्ति व्यवस्थालाई सहज र व्यवस्थित बनाउनको लागि बोर्डर पारीबाट सामान लिएर आउने वाहन चालकहरुको एन्टिजेन परिक्षण गरि सहज आवतजावतको व्यवस्था मिलाउन परिसंघले आग्रह गरेको छ ।
नेपाल सरकारले कोरोनाको जोखिम कम गर्न तोकेका मापदण्डहरुको वेवास्ता गर्नाले अवस्था अनियन्त्रित बन्दै गइरहेको तर्फ संकेत गर्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गराउन जोड दिनुका साथै जटिल परिस्थिति भएका क्षेत्रमा नियन्त्रित लकडाउन गर्नु पर्ने धारणा परिसंघको छ ।
FACEBOOK COMMENTS