काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. ३ बीच हेटौंडामा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार प्रदेश नं. ३ ले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रमहरूमा बहुवर्षिय साझेदारी गर्ने उद्देश्यले यो सहमतीपत्रमा हस्ताक्षर गरिएको हो ।
प्रदेश सरकारसंग विभित्र कार्यक्रम मार्फत सार्बजनिक निजी साझेदारीको प्रारूपमा सहकार्य÷साझेदारी गर्न एक सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ मूल निर्देशिकाको रूपमा तयार गरी सोको आधारमा आवश्यकता अनुसार कार्यक्रमगत कार्यविधिहरू तयार गरी सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यलाई मुर्तरूप दिन यो समझदारीपत्र ऐतिहासिक सावित हुनेछ ।
समझदारीपत्रमा प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणी पौडेलेको समुपस्थितिमा प्रदेश ३ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल र महासंघका अध्यक्ष भवानी राणाले हस्ताक्षर गरे ।
सहमती अनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधिहरू तयार गर्ने गराउने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै ने.उ.वा. महासंघ÷कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मुल्याङ्कन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने र कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS