काठमाडौं, वैशाख ५ – नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसँग आवेदन माग गरेको छ ।आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना–प्रविधि, सेवा)का लागि खुला गरिएको समितिले जनाएको छ । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिसँग आबद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।
एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिष्ट्रेसनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटालगायत आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्नेछ ।
FACEBOOK COMMENTS