काठमाडौं, माघ २० -नेपाल टेलिभिजनको ३५ औँ वार्षिकोत्सव एवं मोबाईल एप औपचारिक शुभारम्भ तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टको अध्यक्षता आयोजित सो कार्यक्रम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा मन्त्री बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानल सञ्चालनमा ल्याउन लागेकोमा खुसी व्यक्त गरे ।
मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन समेत दिए । उनले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए। नेपाल टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् । साथै मन्त्री बाँस्कोटाले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ गरेकामा नेपाल टेलिभिजनलाई बधाई दिए।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट टेलिभिजनले अघिल्लो बर्ष प्रविधिमा रुपान्तरणको रुपमा काम गरेको बताउदै अवको वर्ष “बिषयवस्तुमा सुधार पहुँचमा विस्तार” भन्ने थिममा काम गर्ने बताए । साथै उनले आगामी दिनमा डिजिटल प्ल्याटर्फममा प्रसारणमा बलियोसँग उपस्थित हुने, कन्टेन्टमा सुधार गर्ने, मेघा सोहरु थप गर्ने र प्रदेश स्तरमा पहुँच बढाउने तर्फ काम गरिरहेको जनाए ।
कार्यक्रममा संस्थानमा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो । सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो । यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो । विज्ञापादाता तर्फ कारोबारका आधारमा कि एडभरटाईजिङ र मिडिया हब क्रमश: पहिलो र दोस्रो भए ।


