काठमाडौं, ९ फागुन- नेपाल बङ्गलादेश बैङ्कको चावहिल शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत भएको छ । यो एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत भएको हो ।
नेपालमा डिजिटल भुक्तानीको शुरुवात भएसँगै यसलाई जनमानसमा नगद रहित क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैङ्कको योजना रहेको छ । सो योजनाअनुसार क्यूआर सेवा शुरु भएको हो ।
नगदरहित कारोवारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैङ्कले क्यूआर सेवा सुरु गरेको हो ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्यूआर कोड वितरण गरेर गरे । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरे ।
साथै डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिँदै बैङ्कले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित पनि गरे ।
उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराए । बैङ्कले ग्राहक तथा ब्यापारीहरुको सुबिधालाई ध्यानमा राखी उक्त स्थानमा वर्ल्ड लिंक कम्यूनिकेशनसँगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS