काठमाडौं, चैत ९ – मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराटनगरमा उपलब्ध गराउने भएको छ । अस्पतालले आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी सिनुवरी, विराटनगरबाट सुरु गर्ने भएको हाे ।
एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्फत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित बिराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा विस्तार गर्ने भएका हुन् ।
उक्त सम्झाैता पत्रमा नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले हस्ताक्षर गरे ।
नेपाल मेडिसिटी अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहासिक भएको बताएका छन् । विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनले बताए । ।
FACEBOOK COMMENTS