काठमाडौं, मंसिर १० – शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ। साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ।
सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ। दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ।
अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त माहोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ। ब्यांक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु, र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ। त्यसैकारण बजारमा शेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाई तय गर्दै गएको देखिन्छ।
कारोबारमा आएका समूहमध्ये होटल समूहको सूचक मात्रै घटेको छ। बाँकी सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूह ३ दशमलव ३१ प्रतिशत, ब्यांकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास ब्यांक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ।
बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक शेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ। यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नबिल ब्यांकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ।
बुधबार एनएमबि माइक्रोफाइनान्सक कम्पनीका शेयरधनी र बिशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन्। बजारमा उच्च वृद्धि भएपनि लक्ष्मि इक्वुटी फण्डका इकाईधनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन्।
FACEBOOK COMMENTS