पर्सामा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको हो ।
नारायणी अस्पतालमा गएको शनिबारदेखि भर्ना भएका एक युवकको प्लाज्मा थेरापीबाट उपचार सुरु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमित भइ पाँच दिनदेखि ज्वरो बढेर अस्पताल भर्ना भएका सर्लाहीको चकरघट्टा गाउँपालिका–३ सुन्दरपुरका ३५ वर्षीय युवकको प्लाज्मा थेरापीबाट उपचार पश्चात् स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए ।
गम्भीर किसिमको कोरोना संक्रमण भएकाले अन्य विधिभन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि आइतबार राति साढे १० बजेदेखि उपचार थालेको उनले बताए ।
कोरोना लागेर निको भएको १४ दिनपछि व्यक्तिले प्लाज्मा निकालेर दिन सक्छ । डाक्टर सिंहले कोरोना जितेर निस्केको व्यक्तिहरुलाई प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने आह्वान गरेका छन ।
काठमाडौं उपत्यकाबाहिर बुटवल र धरानपछि वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचार थालिएको सिंहले बताए ।
FACEBOOK COMMENTS