काठमाडौं, १९ फागुन-पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गतवर्ष चैत पहिलो सातादेखि बन्द भएको विशेष पूजा फागुन २५ गतेदेखि पुनः खुल्ने भएको हो ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको समय पारेर विशेष पूजा खुलाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार फागुन २५ गतेदेखि एक हजार एक सयदेखि २७ हजार रुपैयाँसम्मका विभिन्न किसिमका विशेष पूजा गर्न पाइने छ ।
२७ गते पर्ने शिवरात्रिका दिन भने पाँच हजार एक सय र ११ हजारका दुई किसिमका मात्र विशेष पूजा हुने उनले जानकारी दिए । पाँच हजार एक सयको पूजामा दुई जना र ११ हजारको पूजामा चारजना सहभागी हुन पाइनेछ । फागुन २५ गतेदेखि पशुपतिनाथसँगै रहेको वासुकि मन्दिर पनि खुल्ने भएको छ । आव २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४७ रुपैयाँ उठेको थियो भने आव २०७६/७७ मा ६ करोड एक लाख ८९ हजार चार सय ७५ रुपैयाँ उठेको थियो ।
FACEBOOK COMMENTS