काठमाडौं, चैत ८ – कोरोनाभाइरस (कोभिड–१९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो ।
बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए ।
कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यवस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा सो भाइरसको सतर्कता लागि २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।
यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनले बताए । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।
पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोकाअघि साबुन, पानी, स्यानिटाइजरलगायत सुरक्षाका उपाय पनि अवलम्बन भएको छ ।
यसैगरी, पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ ।चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि हाललाई स्थगित गरिएको छ । पशुपतिमा हुने गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागी हुनेछन् ।
कोरनाको त्रास कम भएपछि हाल स्थगित गरिएका विशेष पूजालगायत यज्ञ, यागादि पनि गरिने जनाइएको छ । रासस
FACEBOOK COMMENTS