काठमाडौं, चैत २५ – पछिल्लो समय नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य वृद्धिको चक्करमा लागेको छ । ठूलो आर्थिक घाटा भइहरेको भन्दै निगमले छोटो समयको अन्तरमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ । विगतमा महिनाकाे २ पटक मात्रै मूल्य बढाइरहेकाे निगमले छाेटाे समयमै ४ पटक मूल्य वृद्धि गरिसकेकाे छ । पटक–पटक मूल्यवृद्धि गरिसकेको निगम अझै पनि ठूलो घाटामा रहेको बताइरहेको छ ।
आइतबार मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँको दरले मूल्य वृद्धि गरेको हो । योसँगै पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय ३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत् राखेको छ ।
विगतदेखि प्रतिलिटरमा २/२ रुपैयाँ मूल्य बढाउँदै आएको निगम एकैपटक ठूलो रकमले मूल्य बढाएमा सर्वसाधारणलाई मर्का पर्ने भन्दै २/२ रुपैयाँ मात्रै बढाउँदै आएको हो । नेपाल आयल निगमका सूचना अधिकारी बिनिसमणी उपाध्यायले एकै पटक धेरै मूल्यवृद्धि गर्दा सर्वसाधारण उपभोक्तालाई मर्काे पर्ने भएकोले निगमले विस्तारै मूल्यवृद्धि गरिरहेको बताए ।
उनका अनुसार आइतबार २ रुपैयाँ मूल्य बढाएर पनि अझै निगमलाई प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ९४ पैसा तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा भइरहेको छ । यसरी अर्धमासिक रुपमा निगमलाई करिब ८८ करोड घाटा हुने उनको भनाई छ ।
उनका अनुसार एलपी ग्याँसको कारोबारबाट मात्रै निगमलाई पाक्षिक (१५ दिनमा) ६०.१३ पैसा करोड घाटा हुने अवस्था रहेको छ । सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।
अहिले स्थिरीकरण कोषमा १२ अर्ब रुपैयाँ रहेको छ । ‘अहिले पनि १५ दिनमा १ अर्ब ८८ करोड १५ दिनमा घाटामा छौं, पछिल्लो समय हामी निरन्तर घाटामा छौं, पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३९ पैसा, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ९४ पैसा वृद्धि गर्नै पर्ने दबाबमा निगम छ, यो मूल्य बढाए मात्रै मूल्य सन्तुलन र घाटा कम हुन सक्छ, विस्तारै त्यो मूल्य बढ्छ,’ उनले भने ।
FACEBOOK COMMENTS