काठमाडौं, जेठ २२ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । निगमले आज शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।
मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिका कारण स्वचालिन मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य वृद्धि भएको निगमको भनाइ छ ।
यसअघि पनि महिना दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढेको थियो । निगमका प्रवक्ता विनिममणि उपाध्यायका अनुसार पछिल्लो पटक आज गरिएको मूल्य समायोजन पछि निगमलाई अझै पेट्रोलमा ५ रुपियाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपियाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपियाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ ।
सवारी साधन कम चलेको बेलामा अबको १५ दिनमा निगमलाई कम्तिमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको प्रवक्ता उपाध्यायले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS