काठमाडौं, मंसिर २८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको सुविधासम्पन्न कार्यालय भवन उद्घाटन गरिएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले आइतबार एक समारोहबीच भवन उद्घाटन गरेका छन् ।
१४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा–६, मासबारस्थित ६ रोपनी जग्गामा फैलिएको सो कार्यालय भवन साढे २ वर्ष अवधिमा निर्माण सम्पन्न भएको हो । कार्यालयका २ वटा भवन छन् । तीमध्ये प्रशासनिक भवनमा १० कोठा र प्रहरी भवनमा ११ कोठा रहेको आयोगका पोखरा कार्यालय प्रमुख विपिन आचार्यले जानकारी दिए ।
यसअघि पोखरा ९, नयाँबजारबाट आयोगको क्षेत्रीय कार्यालय संचालन हुँदै आएको थियो । गण्डकी प्रदेशका अख्तियार सम्बन्धित सम्पूर्ण कामहरु निकट भविष्यमै पोखरा कार्यालयबाटै हुने जनाइएको छ ।
नवनिर्मित भवन उद्घाटन गर्दै कावा प्रमुख आयुक्त डा. जोशीले सम्बन्धित निकायहरु जिम्मेवार र जवाफदेही भएमा विकास निर्माणका कार्य समयमै सम्पन्न हुने बताए । अख्तियार संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकार तथा नागरिक समाजसँग सहकार्य गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रणमा अघि बढ्ने बताए । यसो भएमा मात्र सुशासन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले भ्रष्टाचार न्यूनीकरणले मात्रै देशको विकास सम्भव भएको बताए । आयोगका पोखरा कार्यालय प्रमुख विपीन आचार्यले विगतको तुलनामा चालु आवको यस अवधिमा ७० प्रतिशत बढी उजुरी आएको बताए ।
FACEBOOK COMMENTS