काठमाडौं, पुस २ – कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (बिसिआइसी) बीच ५० हजार मेट्रिक टन युरिया मल खरिद-बिक्री सम्बन्धी सम्झौता भएको छ।
४० हजार मेट्रिक टन मल बल्कमा (प्याक नगरिएको) र १० हजार मेट्रिक टन मल ब्याग्ड (प्याक गरिएको) किन्ने गरी सम्झौता भएको सम्झौता प्रक्रियामा सहभागी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकृत अरुण जिसीले नेपाल लाइभसँग बताए।
अधिकृत जिसीका अनुसार ४० हजार मेट्रिक टन बल्क मल खरिदका लागि प्रतिमेट्रिक टन २५९ दशमलव १९५ अमेरिकी डलरमा सम्झौता भएको छ भने १० हजार मेट्रिकटन ब्याग्ड मल खरिद गर्नका लागि प्रतिमेट्रिक टन थप ५ अमेरिकी डलर पर्नेगरी सम्झौता भएको हो।
मल खरिदका विषयमा बंगलादेशसँग विस्तृत छलफल र सम्झौतापत्रमा हस्ताक्षर गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सहसचिव कञ्चनराज पाण्डे, शाखा अधिकृत अरुण जिसी, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालन नेत्र बहादुर केसी र निर्देशक विष्णु प्रसाद पोखरेल मंगलबार बंगलादेश गएका थिए।
बंगलादेशबाट मल ल्याउनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मलको ब्यागिङ र ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको छ।
FACEBOOK COMMENTS