काठमाडौं, पुष १० –प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी छन्।
संसद विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। ओलीले संसद विघटन गरेकोमा आपत्ति जनाउँदै दाहाल–नेपाल पक्षका सात मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए। ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री विना मगर, श्रम तथा रोजगार मन्त्री रामेश्वर रायले आइतबार अपराह्न संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ। सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्दै आएको छ।
ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै गाउँ तहसम्मै जान लागेको छ। दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर गाउँ तहसम्मै आन्दोलनमा जाने तयारीमा छ। दुवै पक्षका बिहीबार बसेका केन्द्रीय समिति बैठकले त्यहीअनुरूपका कार्ययोजना तय गरेका हुन्।
FACEBOOK COMMENTS