काठमाडौं,माघ ८- नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत ९सीईओ० का बारेमा प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको आइतवार साँझको बैठकमा नयाँ सीईओको नाम सिफारिश गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ ।
बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो । सो उपसमितिले डा। धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिश गरेको छ । तर, निवर्तमान जोशी भने सो सूचीमा पर्न सकेनन् ।
पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो रोजाइमा रहेका डा। रेग्मीलाई नियुक्ति गर्ने योजना बनाएकोमा प्रधानमन्त्री कार्यालय रेग्मीप्रति सकारात्मक नहँुदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउनबाट रोकिएको बोर्ड सदस्यहरूकै आरोप छ । उनीहरूले कार्यविधि लत्याएर सीईओ नियुक्तिमा चलखेल भएको आरोपसमेत लगाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीको रोजाइमा निवर्तमान सीईओ जोशी रहेका छन् ।
विधि र प्रक्रिया पूरा गरेर सिफारिश गरिएकामध्येबाट तत्काल सीईओ छनोट गर्नुपर्नेमा विभिन्न बहाना बनाउँदै प्रक्रिया रोक्नुले गम्भीर आशंका उत्पन्न भएको बोर्डका सदस्य तथा सीईओ छनोट उपसमितिका सदस्य कृष्णबहादुर महराले बताए । ‘नेपाल भ्रमण वर्षलाई गतिशील बनाउन पनि जतिसक्दो छिटो सीईओ नियुक्त हुनुपर्नेमा अल्झाएर राखिएको छ । यसले पर्यटन वर्षमात्र होइन, पर्यटन बोर्डलाई नै धराशयी बनाउनेछ,’ उनले भने ।
सीईओ छनोट उपसमितिका संयोजक पौडेलले भने मन्त्री र सचिवको कार्यव्यस्तताले केही ढिला भएको हुनसक्ने प्रतिक्रिया दिए । ‘छिटो गर्दा राम्रो हुन्छ नै । तर, जसरी प्रधानमन्त्री र पर्यटन मन्त्रीको स्वार्थसँग जोडिएका कारण ढिला भयो भन्ने कुरा बाहिर आएको छ, यसको सत्यता कति हो, त्योचाहिँ थाहा भएन,’ उनले बताए । भ्रमण वर्षका लागि काम गर्न छुट्टै संयन्त्र भएकाले १÷२ दिन ढिला हुँदैमा खासै फरक नपर्ने पौडेलको भनाइ छ ।
पर्यटन बोर्डका अर्का सदस्य दीपक महतले पनि सिफारिश गरिएकामध्येबाट उत्कृष्टताको आधारमा छनोट गर्न ढिला हुनुले बोर्डको नियतमाथि शंका उब्जिएको बताए । ‘सबै विधि र प्रक्रिया पुर्याएर बोर्डलाई सीईओ छनोटका लागि सिफारिश गरेपछि ढिला गर्नुपर्ने कारण के हो,’ महतले प्रश्न गरे । बोर्डमा पर्यटन मन्त्रालयको सचिव अध्यक्ष रहने प्रावधान छ । अहिले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी बोर्डका अध्यक्ष छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS