काठमाडौं,फागुन २२- जहदा (मोरङ) — ‘हजुर, कौडीको भाउमा बेच्दै छौं, लानुस् न । सय रुपैयाँले दुई झोला तरकारी आउँछ ।’
आफूले उत्पादन गरेको गोलभेंडा देखाउँदै मोरङ जहदाका किसान राधे शाह । तस्बिर : जितेन्द्र साह/कान्तिपु
मोरङको जदहा गाउँपालिका–४ का ७४ वर्षीय किसान राधे शाहका भनाइ हुन् यी । उनले खेतबाटै बन्दा प्रतिकिलो ५, काउली ७, मुला १०, आलु १० र गोलभेंडा १२ रुपैयाँमा बेचिरहेका छन् । विराटनगरबाट करिब १३ किमि पूर्वदक्षिण रहेको आफ्नो खेतमा भेटिनेलाई उनी यसैगरी दुखेसो पोखिरहेका हुन्छन् । ‘दिनरात जरोदेखि टुप्पासम्म स्याहार्नुपर्छ तर आम्दानी छैन, तरकारी बेचेर कसरी बाँच्ने ?’ उनले भने ।
नजिकै रहेको विराटनगरको खुद्रा बजारमा भने प्रतिकिलो बन्दा १५ रुपैयाँ, काउली, आलु, मुला र गोलभेंडा २०/२५ रुपैयाँमा बिक्री भइरहेका छन् । खुद्रा बजारमा दैनिक भाउ बढिरहेकै छ । सिजनमा भारत र नेपालमा हुने अत्यधिक उत्पादनका कारण मूल्य घटाउने प्रतिस्पर्धामा स्थानीय किसानले नोक्सानी बेहोर्नुपरेको छ । लागत र श्रम खर्च उठ्न पनि धौधौ परिरहेकाले तरकारी खेतीको विकल्प खोज्ने स्थिति आएको उनले बताए । ‘सरकारले किसानलाई यति र उति सहयोग गर्यो भन्ने सुन्दै आएको छु तर अहिलेसम्म कसैबाट केही पाएको छैन,’ उनले भने । स्थानीय सहकारीबाट ऋण लिएर उनले साढे तीन बिघा जग्गामा झन्डै ५ लाख रुपैयाँ खर्चेर तरकारी खेती गरेका छन् । प्रतिकिलो ५/७ रुपैयाँमा बेच्नुपर्दा मजदुरको ज्याला पनि नउठ्ने उनको गुनासो छ ।
कोरोना कहर सुरु भएपछि बिग्रँदै गएको तरकारी किसानको स्थिति अझै नसुध्रिएको शाहले बताए । किसानले काउली लगाउँदा प्रतिकट्ठा ७ हजार रुपैयाँसम्म खर्च हुन्छ । सप्रिएमा १ हजार ५ सय किलोसम्म उत्पादन हुन्छ । एक कट्ठामा बन्दा काउली दुई हजार किलोसम्म उब्जिने उनको भनाइ छ । कुनै दिन पक्कै स्थिति सुध्रिएला भन्ने आशमा स्थानीय रघुनन्दन ठाकुरले तरकारी खेती गर्न थालेको दुई दशक भइसक्यो । तर उनले अझै पनि लागत र आम्दानीको सन्तुलन मिलाउन सकेका छैनन् । सधैंको कठिनाइ छ । लगानी र श्रम जोड्दा न्यून आम्दानीमा खेती गरिरहेको उनले बताए । हाटबजारमा प्रतिकिलो १० रुपैयाँमा काउली र १५ रुपैयाँमा गोलभेंडा बेचिरहेको उनले जानकारी दिए ।
‘यतिखेर भाउ नहुने कारण चाहिँ धेरै उत्पादन हो, धेरैजसोले घरमै उब्जाउने भएकाले यस्तो भएको हो,’ ठाकुरले भने । नेपाली उत्पादन बजारमा नआएकाले भिन्डी प्रतिकिलो १ सय ५० र खुर्सानी १ सय २० रुपैयाँमा बिक्री हुने गरेको छ । तर स्थानीय भिन्डी र खुर्सानी बजारमा आएपछि भाउ आधाआधी घट्ने किसान बताउँछन् । गाउँपालिका वरिपरिको क्षेत्रमा तरकारी सम्बद्ध सामग्री उत्पादन गर्ने कारखाना नभएको र भारतबाट सस्तोमै भित्रिने भएकाले सिजनमा अति कम मूल्यसमा सागसब्जी बेच्नुपरेको किसान सुशीलकुमार सिंहको भनाइ छ ।
मौसमको मारसँग जुध्दै दिनरातको श्रम र हजारौं रुपैयाँ लगानी गर्दा पनि आफ्नो उत्पादन अति सस्तोमा बेच्नुपरिरहेको उनले बताए । गाउँपालिका कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आधा मूल्यमा कृषि औजार दिएर मात्र किसानको जीवन नउकासिने उनको भनाइ छ । यता गाउँपालिकाका कृषि प्राविधिक सौरभसिंह राजपुतले भने मौसमी खेतीमा मात्र किसान निर्भर रहेकाले त्यसले उचित मूल्य नपाएको प्रतिक्रिया दिए । ‘किसानलाई बेमौसमी खेती गर्ने प्रशिक्षण पनि दिनुपर्छ,’ उनले भने, ‘मौसमी खेतीप्रति किसानको मोह हटाउन गाउँपालिका लागेको छ ।’
FACEBOOK COMMENTS