काठमाडौँ, असोज १६ – बेल्जियमका पूर्वराजा अल्बर्ट दोस्रोले आफ्नी ‘गोप्य’ छोरीसँगको मुद्दा हारेका छन् । यसअघि ५२ वर्षीया डेल्फाइन बोयलले पूर्व राजा अल्बर्ट आफ्ना बाबु रहेको भन्दै मुद्दा हालेकी थिइन् । ब्रसेल्स कोर्ट अफ कपिलले डेल्फाइनको पक्षमा फैसला सुनाएको हो । डेल्फाइनलाई अब आधिकारीक रुपमै राजकुमारीको दर्जा दिनुपर्ने यस फैसलामा उल्लेख छ ।
त्यस्तै, डेल्फाइनका छोराछोरीले पनि राजकुमार र राजकुमारीको पदवी पाउनेछन् । आफ्नी आमा डिसेल्लबी डि सेलिस लङच्याम्पसँग राजाको अफेयर चलेको र आफु जन्मिएको उनको दाबी थियो । अक्टुबर २०१८ मा अदालतले डिएनए परीक्षण गरेर नमूना बुझाउन माग गरेपनि अल्बर्टले मानेनन् । गत मेमा अदालतले डिएनएको नमूना नबुझाए दैनिक रुपमा ५ हजार युरो जरिवाना गर्ने आदेश दिएको थियो । त्यसपछि ८६ वर्षीय अल्बर्टले डिएनए परीक्षण गरेका थिए ।
‘अदालतको फैसलाले उनी हर्षित छिन् । जसले उनी र उनको परिवारका लागि पीडादायी रहेको लामो प्रक्रिया टुंग्याएको छ,’ डल्फाइन वकिलले भनेका छन्,‘कानून लडाइँ कहिल्यै बाबुको माया सरह हुँदैछ, तर यसले न्यायको अर्थ दिन्छ ।’
अल्बर्ट दोस्रोले सन् १९५९ मा पाओला रुफो डि कालाब्रियासँग बिहे गरेका थिए, सन् १९९३ मा उनी राजा भए । यो दम्पत्तीका तीन छोराछोरी छन् । सन् २०१३ मा ७९ वर्षको उमेरमा स्वेच्छाले गद्दी त्याग गर्दै अल्बर्टले छोरा फिलिपलाई राजा बनाएका थिए । उनले गद्दी छाडेलगत्तै डेल्फाइनले कानुनी लडाइँ सुरु गरेकी थिइन् ।