काठमाडौं, चैत २१- बैंक अफ काठमाण्डूले कोभिड-१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैयाँ दिने भएको छ ।
उक्त सहायता रकम अन्तर्गत प्रत्येक प्रदेशको राहत कोषमा ५ लाख रुपैयाँको दरले ३५ लाख र बाँकी ६५ लाख केन्द्रीय सरकारको राहत कोषमा योगदान गर्ने बैंकले जनाएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो । कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्तर्गत यस बैंकले एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
साथै ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता डिजिटल बैंकिङ माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिँदै आइरहेको जानकारी समेत गराएको छ ।
FACEBOOK COMMENTS