काठमाडौं, असोज ४ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो पटक पार्टीको बैठक बस्दैछ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएपछि त्यस अघिका दुवै पार्टीका केन्द्रीय कार्यालयलाई नेकपा केन्द्रीय कार्यालय मानिएको थियो ।
तर तत्कालीन एमाले कार्यालय धुम्बाराहीमै पार्टीका सबैजसो गतिविधि हुँदै आएका थिए । पूर्व माओवादीतर्फका नेताहरु मात्रै प्राय पेरिसडाँडामा पुग्ने गर्थे ।
आइतबार हुने पार्टीको सचिवालय बैठक पेसिरडाँडामा हुँदैछ । बैठक ११ बजे सुरु हुँदैछ । सधैंजसो प्रधानमन्त्री निवास बालुवाटार मै पार्टीका बैठकमा डाक्दै आएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि पहिलो पटक बैठकका लागि पेरिसडाँडा जाँदैछन्।
पेरिसडाँडा बैठकमा ओली नजाने भन्ने चर्चा चले पनि उनी बैठकमा उपस्थित हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठक ११ बजेका लागि डाकिएको छ ।
बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय गरिएको थियो। शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको थियो।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।
FACEBOOK COMMENTS