काठमाडौं, साउन ११ – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि उनको कोरोना परीक्षणका लागि नमूना संकलन कहिले गरिएको थियो र कहिले रिपोर्ट आयो भन्ने जानकारी उनले दिएका छैनन् ।
राष्ट्रपति बोल्सोनारोले आफू कोरोना संक्रमित भएको र त्यसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सन्जालमा सेयर गरेका थिए ।
खासगरी मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोनाका विरामी निको हुने वैज्ञानिक रुपमा पुष्टि भइसकेको छैन ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोना भाइरस संक्रमणलाई सामान्य फ्लू भन्दै बेवास्ता गर्दै आएका छन् । उनले लकडाउनलगायतका स्वास्थ्य सतर्कताका अन्य उपाय नअपनाउँदा ब्राजिल कोरोनाबाट नराम्रोसँग प्रभावित भएको जानकारहरु बताउँछन् । ब्राजिल अमेरिकापछि विश्वमै बढी प्रभावित देशको सूचीमा दोस्रो स्थानमा छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा २३ लाख ९४ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण ८६ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS