काठमाडौं, माघ १ – भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या आज (बिहीवार)सम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १९८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधवार ३५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ ।
भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिदै आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधवार मात्र एकै दिनमा आठ लाख ४३ हजार १९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।
FACEBOOK COMMENTS