चितवन– भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ ।
सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।
सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ । कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताए ।
यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलले बताए ।
केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन आग्रह गरेको उनले बताए ।
देशभरिका दुई हजार १०० खोरमा कुखुरा पालिँदै आएको छ । एक लाख ७० हजारभन्दा बढी मजदूर लेयर्स कुखुरापालनमा कार्यरत रहेका छन् । रासस
FACEBOOK COMMENTS