काठमाडौं,भदौ २२ । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा भोलि (सोमबार)देखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ ।
वायु प्रदुषण र बढ्दो शहरीकरण, अत्याधिक सडक जाम र सवारी साधनजन्य प्रदूषणलाई न्यून गर्न सुन्दर यातयातले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो ।
सुन्दरले पहिलो चरणमा ४० सिट क्षमतासम्मका ७ वटा बसमार्फत यात्रुलाई सेवा दिने भएको छ । यस लगत्तै चिनबाट १८ वटा बस नेपाल भित्र्याउने जनाएको छ ।
उक्त बस सञ्चालनका लागि कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
काठमाडौं बाहिर पनि विद्युतीय बस सञ्चालन गर्ने योजना सुन्दरको छ । सुन्दरले यस परियोजनाको लागि १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । पछि बस थपेर सेवा विस्तार गर्ने कम्पनीले बताएको छ ।
यो वर्ष्भित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने अध्यक्ष थापाले बताए । बसको लागि सुन्दर यातायातले सुकेधारमा रहेको आफ्नो ग्यारेजमा चार्जिङ स्टेशन समेत जडान गरि सकेको छ ।
भन्सार विभागको गत तथ्यांक अनुसार विद्युतीय सवारी साधानको संख्या बढ्दै गएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक २०७५।७६ मा एक अर्ब ६ करोड ४० लाख ३२ हजार मूल्य बराबरका दुई हजार एक सय ७० थान चार पाङ्ग्रे सवारी साधन भित्रिएका छन् ।
FACEBOOK COMMENTS