पोखरा पुस २,नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी (एमएमसी)लाई गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको छ ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको रोहवरमा एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता–पत्रमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ र एमएमसीको तर्फबाट अध्यक्ष मुखिया गुरुङले हस्ताक्षर गरेका छन् ।
पोखरामा लिग खेलकै इतिहासमा पहिलो पटक आयोजना हुने लागेको सहिद स्मारक लिग अन्तर्गत हुने फुटबल प्रतियोगितामा होम एण्ड अवेको अवधारणामा एमएमसीले पोखरा रङ्गशालालाई रोजे पछि प्रदेश सरकारले १० लाख सहयोग गरेको हो । एमएमसीले उक्त रकम टिमको व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने जनाइएको छ ।
सम्झौतामा जनाइए अनुसार एमएमसीले प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकी सँग मिलेर काम गर्नेछ प्राविधिक लगायत पोखरा रङ्गशालाको संरक्षण लगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौता–पत्रमा उल्लेख छ । एमएमसी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो पटक शनिवार नेपाल पुलिस सँग मैदानमा उत्रिने छ । सहिद स्मारक लिग अन्तर्गतको ४४ औँ शृङ्खलाको पूर्व सन्ध्यामा प्रदेश सरकारले १० लाख सहयोग उपलब्ध गराएको छ । एमएमसीलाई सहयोग स्वरूप प्रदान गरिएको उक्त रकम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समेत विनियोजन गरेको छ ।
सम्झौता पछि कुरा गर्दै युवा तथा खेलकुद मन्त्री गुरुङले एमएमसी जस्तो टिम सँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुखद रहेको बताए । उनले भने–“अव प्रदेशमा युवा खेलाडी उत्पादनमा समेत हामीले एमएमसी सँग मिलेर अघि बढ्न सक्छौँ ।” एमएमसीले पोखरालाई होम ग्राउन्ड रोज्नु स्वागत योग्य रहेको जनाउँदै प्रदेश सरकारले हाल १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्य नै रहेको औँल्याए ।
FACEBOOK COMMENTS