काठमाडौं,मंसिर ४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बुधबार पुर्नगठन हुने औपचारिक जानकारी गराएका हुन् । यससँगै मंगबारको मन्त्रिपरिषद् बैठक केही मन्त्रीका लागि अन्तिम भएको छ । बुधबार प्रधानमन्त्रीले केही पुराना मन्त्रिलाई बिदा दिँदै नयाँ समेटेर आफ्नो मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका हुन् ।
एक मन्त्रीका अनुसार मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन भइरहेको जानकारी गराउँदै मन्त्रीलाई औपचारिक कार्यक्रम नराख्न निर्देशन दिएका छन् । तर, कुनकुन मन्त्री हटाउने र नयाँ मन्त्री को हुने भन्नेबारे उनले केही खुलाएका छैनन् ।
‘तपाईहरू चित नदुखाउनुहोला, भोलि म मन्त्रिपरिषद् हेरफेर गर्दै छु । कोही पर्नुहोला, कोही नपर्नुहोला, अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तपाईहरूलाई असक्षम भनेर हटाउन खोजेको होइन बाहिर पनि कतिपय सक्षम साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि मौका दिनुपर्छ ।’
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गत सोमबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि पार्टी अध्यक्षसमेत रहेका ओलीले बुधबार बिहान नेकपा सचिवालय बैठक बोलाएका छन् ।
नेकपा स्रोतका अनुसार सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीको निर्णय गर्नेछ । सचिवालय बैठकबाट मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मन्त्रिपरिषद् पुनर्गठनका अन्य प्रक्रिया अघि बढ्ने नेकपा स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा जुटेका प्रधानमन्त्री ओलीले नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित सचिवालयका अन्य सदस्यहरूसँग विगतमा छलफल गर्दै आएका छन् ।
केही समयअघि ओलीले दाहाल, नेपाललाई मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेका थिए । त्यसअघि ओलीले सचिवालयका नेताहरू वामदेव गौतम, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पार्टी महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री एवं स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवाली लगायतकासँग पुनर्गठनबारे छलफल गरिसकेका छन् ।
हटाइने सूचीमा रहेका मन्त्रीहरू
प्रधानमन्त्री ओलीले अहिले मन्त्रिमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यथावत् रहन सक्ने मन्त्रीहरू
प्रधानमन्त्रीले मंगलबार साँझसम्म बनाएको यथावत् रहने मन्त्रीको सूचीअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, भूमिसुधार मन्त्री पद्मा अर्याललगायतका मन्त्रीहरूले निरन्तरता पाउने बताइएको छ । यद्यपि यो सूचीमा पनि केही हेरफेर हुन सक्ने र मन्त्रालयसमेत परिवर्तन हुन सक्ने स्रोतले जानकारी दिएको छ ।
सरकारको काम प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउन मन्त्रिपरिषद् पुनर्गठन हुँदै छ । पार्टी र जनस्तरबाट सरकारको कामबारे असन्तुष्टि आएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
थपिने सूचीमा रहेका मन्त्रीहरू
स्रोतका अनुसार नयाँ मन्त्री हुने सूचीमा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ र हृदयश त्रिपाठीलगायतको नाम नेकपाभित्र चर्चा भइरहेको छ । यस नाममा पनि केही हरेफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS