काठमाडौं, मंसिर २८ – काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आज २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।
‘काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ शाक्यले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’
उनले दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी उक्त अभियान सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । त्यसैगरी महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिए ।
‘पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, सम्पदा निर्माण–पुनर्निर्माण, सेवा प्रवाहलगायतमा काठमाडौं महानगरपालिकाले गरिरहेका विविध कार्यक्रम र आगामी दिनमा चाल्नुपर्ने सकारात्मक कदमका लागि महानगरवासीको अभिमत लिन यो पटक महानगर दिवसकै अवसर पारेर धेरै मानिस आवतजावत हुने शहरका विभिन्न ३० स्थानमा ‘अभिमत संकलन बुथ’ राखेको छ,’ शाक्यले भने, ‘तीन दिनसम्म सञ्चालन हुने ती बुथबाट करीब ४० हजारको अभिमत संकलन हुने अपेक्षा गरेका छौँ ।’
वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष काठमाडौँ महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको स्मरण गराउँदै शाक्यले यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध कार्यक्रमसहित मनाउँने तयारी गरेको जानकारी दिए।
FACEBOOK COMMENTS