काठमाडौं, १७ फागुन –नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच उद्यम प्रवद्र्धन र ऋण सहजिकरणका लागि सम्झौता भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतका सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले महासंघ र बैंकर्स संघीबीच सम्झौता भएको हो ।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले उक्त समिझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूबीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने सम्झौतामा उल्लेख छ ।
उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको समझदारी कोशेढुंगा हुने बताए । “हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ” अध्यक्ष गोल्छाले भने, “एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।”
कार्यक्रममा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीले दुवै संस्थाको एकतालाई मजबुद बनाएको बताए । “हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामी बीचको सहकार्य निरन्तर अगाडी बढ्ने छ” उनले भने, “यो समझदारीलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ ।” हाल मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहँच विस्तार भइसकेको छ ।महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले महासंघ र बैंकर्स संघको प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने बताए । उनले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए ।
अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत भएर गरिएको समझदारीले समस्या सम्बोधन गर्ने बताए । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने उनको दावी छ।
FACEBOOK COMMENTS