काठमाडौं, पुस १७ – कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तर गरिनेछ।
सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालले माघ १ गते नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका हुन्। ‘रेल गुडाएर ल्याउने भएकाले १५ दिन लाग्छ, लगत्तै नेपालमा रेल सुरु हुन्छ’, मन्त्री नेम्वाङले अन्नपूर्णसँग भने, ‘दुईवटा रेल (लोकोमोटिभ) ल्याउँदै छौं।
एउटा माघ १६ मा आइपुग्छ भने अर्को ठीक एक महिनापछि आइपुग्छ।’ नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोकोमोटीभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुनेछ। रेल जीटूजी (दुई सरकारको तहमा) भारतीय कम्पनीसँग किनिएको हो। नेपाल सरकारले सम्झौताअनुरुप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ। नयाँ रेल जयनगर–जनकपुर–वैजालमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसको दूरी ५१ किलोमिटर छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। २०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो। नेपालले खरिद गर्ने कार पाँच डिब्बाको हुनेछ। असोज २ गते रेलवे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसद्को बैठकमा पेस गर्न स्वीकृति दिइएको छ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेलमार्ग विस्तार भइसकेको छ। बाँकी कुर्था–विजलापुर १७ किमि पनि भारतकै सहयोगमा विस्तार भइरहेको छ। असारको बर्खामा जनकपुर–जयनगरको रेलवे ट्र्याकको करिब पाँच किलोमिटर क्षेत्रफल डुबानमा परेको थियो। नेपाल भारत सिमा क्षेत्रमा पर्ने धनुषाको इनरुवातर्फ एक सय मिटर लिक पूर्ण रूपमा बाढीले क्षतिग्रस्थ भएको थियो। रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब आठ करोड रुपैयाँको क्षति पुगेको छ। आधिकारिक रूपमा रेलमार्ग नेपाली पक्षलाई हस्तान्तरण नभएकाले क्षतिग्रस्थ रेलमार्ग भारतबाटै पुनर्निर्माण भइरहेको छ। रेल सञ्चालनपूर्व नै पुनर्निर्माणको कार्य सकिने विभागको दाबी छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS