चरिकोट,चैत १०- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्यत् आयोजनाको हेडवर्क्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै संरचनाहरु टोलरेन्स लेभलमा रहेको, पानी लिकेज कम रहेको र बाँध क्षेत्रको परीक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताए ।
निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको हेडवर्क्सअन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भएसंँगै आयोजना बालुवा थिग्र्याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भए मात्र विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ ।
अहिलेसम्म ९९ दशमलव ४ प्रतिशत निर्माणको काम सकिए पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन । ठाडो सुरुङको दुई ओटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ ।
अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले बताएको छ ।
विसं २०६७ देखि मुख्य सिभिल निर्माण कार्यको शुरुआत गरिएको यो आयोजनाले विसं २०७२ जेठ महीनामा पहिलो युटिनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
विसं २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो । रासस
FACEBOOK COMMENTS