काठमाडौं – सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ।
मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए।
जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको राईले जिकिर गरे।
सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राखेको हो।
प्रस्तावित प्रावधानले वृद्ध आमाबुबाको पालनपोषणको दायित्वबाट पन्छिने प्रवृत्ति कम गराउने ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले बताए।
विधेयकको दफा ८ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा प्रचलित कानुनबमोजिमका संस्थाबाट नियमित पारिश्रमिक लिइरेका व्यक्तिले त्यस्तो रकम जम्मा गर्नु पर्नेछ। बाबुआमा सगोल वा कानुनबमोजिम भिन्न भइसकेको अवस्थामा समेत यसरी नियमित रकम जम्मा गर्नु पर्नेछ।
नियमित पारि श्रमिक जम्मा नगरेमा आमाबुबाले निज कार्यरत निकाय वा स्थानीय निकायमार्फत् निवेदन दिन सक्ने छन्। त्यस्तो निवेदन आएमा सम्बन्धित निकायको प्रमुखले रकम जम्मा गर्न आदेश दिन सक्ने पनि ऐनमा प्रावधान छ। – अन्नपूर्ण पोष्ट
FACEBOOK COMMENTS