काठमाडौं, १८ मंसिर – उपल्लो मुस्ताङका दुई स्थानीय तहमा अस्थायी कोरोना अस्पताल स्थापना भएका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बिहीबार अस्पतालको उद्घाटन गरिएको हो ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्डले कोरोनाका संक्रमित तथा लक्षण देखिएकाको उपचार र व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याएको बताएका छन् । यस्तै थासाङ गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको छ ।
स्थापना भएका अस्थायी अस्पतालको थासाङमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकरमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङ र लोमान्थाङमा गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले उद्घाटन गरेका हुन् ।
कोरानाका बिरामीको उचारमा सहजता ल्याउनका लागि मुस्ताङका तीनै तहले अस्थायी रुपमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
सरकारी स्वास्थ्य संख्या नभएका स्थानीय तहका लागि सरकारले ५ बेडको कोभिड अस्पताल बनाउन १० लाख रुपैयाँ सम्बन्धित तहललाई उपलब्ध गराएको छ । उक्त बजेटक खर्चेर अस्थायी अस्पताल सञ्चालनमा ल्याएको लोमान्थाङ गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले जानकारी दिए ।
अस्पतालका लागि आवश्यक सबै सामग्री खरिद गरिसकेको उनको भनाइ छ । तत्काल गाउँपालिकाकै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने तयारी गरिएको छ । स्थानीय तहमा ५ बेडको कोरोना अस्थायी अस्पतालमा एक जना मेडिकल अफिसर , २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगी गरि ४ जनाको जनशक्ति तोकिएको छ ।
FACEBOOK COMMENTS