काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएको सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् ।
दिउँसो करिब १।०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जनालाई पानीले उच्छिट्याउँदा घाइते भएका थिए भने दुई जना हराइरहेको जनाएको छ । हराइरहेकामा एक जना आयोजनाका सवारी चालक रहेको र एक सिनो हाइड्रोका चिनियाँ इञ्जिनियर भन्ने जानकारी भए पनि सो पुष्टि भइ नसकेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाइ बताउनुभयो ।सुरुङ परीक्षणका लागि छाडिएको पानीले गेट फोडे पछि घटना भएको हुन सक्ने बताइएको छ । अहिले सुरुङमा पानी कम भइसकेको र उहाँहरूको खोजी भइरहको प्रवक्ता पन्तले बताउनुभयो ।
घाइतेको मेलम्ची स्वास्थ्य चौकीमा उपचार भइरहेको र उहाँहरूलाई काठमाडौँ ल्याउन काठमाडौँबाट श्री एयरको हेलिकोप्टर उडिसकेको पन्तले बताउनुभयो ।
FACEBOOK COMMENTS